पछिल्लो समयका बलिउडका पावर हाउस अभिनेता रणवीर सिंहको काम को चर्चाले बेला बेला बलिउड तातिने गर्छ । उनै रणवीरले शनिवार आफ्नो ३४औँ जन्मदिन मनाए । उनले जन्मदिन जन्मदिनको रूपमा मात्र मनाएनन् साथमा दर्शकसामु आफूले काम गरिहेको चलचित्र '८३' को लुक्स पनि सार्वजनिक गरे । क्रिकेटर कपिल देवको जीवनीमा तथा १९८३ को विश्वकप क्रिकेटको घटनामा आधारित यस चलचित्रको पोस्टरमा रणवीरलाई हुबहु कपिल देव कै अवतारमा देख्न सकिन्छ । यति बेला रणवीर छायाङ्कनको लागी लन्डनमा छन् । साथमा उनकी पत्नी अर्थात् अभिनेत्री दीपिका पादुकोण पनि लन्डनमै छिन् '८३'मा उनको पनि अभिनय रहनेछ । दीपिकाले कपिल देवकी श्रीमतीको भूमिका निभाउँदै छिन् । कबीर खानले निर्देशन गरेको यस चलचित्रकै लागी रणवीर कपिल देवको जीवनको बारेमा बुझ्न र आफूलाई उनको अवतारमा प्रस्तुत गर्न दिल्लीमा कपिल देवको घरमा १० दिन बसेका थिए । यो फिल्ममा कपिल देवको जर्नीको बारेमा बताइनेछ, जसले विश्व कप जिताउन सफल भएका थिए ।