बलिउडकी भर्साटायल अभिनेत्री कङ्गना रनावत तथा अभिनेता राजकुमार राव अभिनीत चलचित्र 'जजमेन्टल हे क्या' को ट्रेलर भर्खरै सार्वजनिक भएको छ । ट्रेलर रिलिजसँगै यी दुईको अभिनयको चर्चा बलिउडमा राम्रै चलिरहेको छ । यसैबिच चलचित्रको पहिलो गीत 'द वखरा सङ' रिलिज कार्यक्रममा कङ्गनाको सञ्चारकर्मी सँग भनाभन भएको छ । ‘मर्णिकर्णिका’को नकारात्मक समीक्षा गरेको र आफुबिरुद्ध अभियान चलाएको आरोप कङ्गनाले उक्त सञ्चारकर्मीलाई लगाएकी थिइन् । साथमा पत्रकारले पनि आफूले गलत नलेखेको र सही कुरा लेख्नु कसैको विपरीत जानु होइन भनी जवाफ दिएका थिए । यती मात्र होइन पत्रकारले आफूलाई बारम्बार म्यासेज गरेको पनि कङ्गनाले बताइन् । यिनै कुराको भनाभनले उक्त कार्यक्रममा विवादमय वातावरण सिर्जना भएको थियो । विवाद बढ्दै गएपछी निर्माता एकता कपुर र नायक राजकुमार रावले दुबैलाई शान्त बनाउने कोसिस गरेका थिए । तर बहस केही बेर चलिनै रह्यो । वातावरण केही शान्त भएपछि भने २६ जुलाई देखि रिलिज हुने तयारीमा रहेको चलचित्रको बारेमा छलफल भएको थियो ।