गायक उदित नारायण झालाई लगातार ज्यान मार्ने धम्की आएपछी पुलिसलाई उजुरी दिएको खबर सार्वजनिक भएको छ । पछिल्लो एक महिनादेखि लक्ष्मण नाम गरेका एक व्यक्तिले तीन पटक सम्म एउटै नम्बरबाट उदितलाई मार्ने धम्की दिइरहेको बताउँदै उनले उजुरी दर्ता गरेका हुन् । फोन गर्ने व्यक्तिले पैसाको कुनै माग नराखेको तर उदितको हरेक गतिविधि जानकार रहेको बताउने गरेको खुलेको छ । उजुरी दर्ता हुनासाथ धम्की दिने व्यक्तिको खोजी भइरहेको र प्रहरीको अनुसन्धान अनुसार फोन आएको नम्बरको लोकेशन विहारमा रहेको पत्ता समेत लागिसकेको छ ।

उक्त व्यक्तिले चोरीको मोबाइलबाट फोन गरेको खुलेको छ । हाल उदित नारायणको घर वरिपरि सुरक्षाकर्मी खटाइएको र सादा पोसाकमा प्रहरीले निगरानी समेत गरिरहेको अम्बोली पुलिस स्टेसनका सिनियर इन्स्पेक्टरले जानकारी दिएको भारतीय मिडियाले लेखेका छन् ।