धर्म संस्कृति भनेको मान्छेको विश्वास अनि आस्था हो । कसैको आस्थामाथि ठेस पुग्ने काम कसैले गर्छ भने त्यो सह्य हुँदैन । विश्वमा आजसम्म जति पनि धर्मको नाममा युद्ध भएका छन् ती सबै अरूको धर्मप्रति गर्ने व्यवहार र आस्थामा ठेस पुग्ने कार्यले निम्त्याएका छन् । केही दिन अघि रिलिज भएको चर्चित नेटफ्लिक्स सिरिज 'सेक्रेड गेम्स' चर्चामा छ । अनुराग कश्यप, विक्रमादित्य मोटवानी र नीरज घेवानले निर्माण गरेको यस सिरिजमा सैफ अलि खान, नवाजुद्दीन सिद्दीकी, पङ्कज त्रिपाठी, सुरवीन चावला, ल्यूक केन्नी तथा कल्कि कोचलिनको मुख्य भूमिका रहेको छ । यसै सिरिजमा सिरिजका मुख्य अभिनेता सैफ अलि खान (सरताज)ले एक सिनमा आफूले लगाएको हातको बाला अर्थात् 'कडा' निकालेर फाल्छन् । उनले लगाएको कडा उनका पिताले दिएका हुन्छन् जसको सिख धर्ममा निकै ठुलो अर्थ रहेको छ । यसलाई गुरु सहिबको आशीर्वादको रूपमा लिने गरिन्छ । यसै विषयलाई लिएर दिल्लीका एम एल ए मन्जिन्दर सिंह शीर्षले आवाज उठाएका छन् । सैफले कडा फाल्दा सिख धर्मको आस्थामाथि अन्याय भएको भनिएको छ । यसैले उक्त कडा फालिएको सिन सिरिजबाट हटाउन उनले आवाज उठाएका छन् । सिन नहटाए कानुनी रूपमा आफू अगाडी बढ्ने चेतावनी समेत उनले दिएका छन् ।