बलिउड सुपरस्टार अक्षय कुमारको आज ५२औं जन्मदिन हो । आफ्नो जन्मदिनमा उनले चलचित्र ‘पृथ्वीराज' को घोषणा गरेका छन् । चलचित्रको आकर्षक टीजरमार्फत् औपचारिक निर्माण घोषणा गरिएको हो । यशराज फिल्म्सले निर्माण गर्ने यस चलचित्रमा अक्षय महान् राजा तथा योद्धा पृथ्वीराज चौहानको भूमिकामा देखिनेछन् । अक्षयले ट्विटरमा टिजर सेयर गर्दै आफ्नो सबैभन्दा ठुलो फिल्ममध्येको यस चलचित्रको लागी आफू निकै उत्साहित रहेको बताएका छन् । चलचित्रलाई डा. चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्दै छन् भने आउँदो दीपावलीमा प्रदर्शन हुनेछ । अक्षयको पछिल्लो रिलिज फिल्म मिशन मङ्गल हो जसबाट राम्रो प्रतिक्रिया पाएका थिए ।
उनका चलचित्र 'हाउस फुल ४', 'लक्ष्मी बम', 'गुड न्युज', 'सूर्यवंशी' र 'बच्चन पाण्डे' प्रदर्शनमा आउन लागेका चलचित्र हुन् । सन् २०२० मा उनले अभिनय गरेका केही चलचित्र भारतमा हुने महत्त्वपूर्ण बिदामा रिलिज हुँदैछ । इद, क्रिसमसलाई समेत बुक गरिसकेका अक्षयले अब तिहारको डेट पनि बुक गरिसकेका छन् । योसँगै आउँदो वर्षको तिहारमा अक्षयसँगै नायिका कङ्गना रनावतको भिडन्त हुने भएको छ । कङ्गनाले अभिनय गरेको चलचित्र ‘धाकड’ पनि तिहारमा नै रिलिज हुँदैछ ।