दङ्गल’ निर्देशकको रूपमा चिनिएका नितेश तिवारी निर्देशित चलचित्र ‘छिछोरे’ गत शुक्रवारदेखि प्रदर्शनमा आएको छ । अघिल्लो हप्ता प्रदर्शनमा आएको प्रभास स्टारर चलचित्र ‘साहो’को एक छत्र राज हुँदा हुँदै पनि ‘छिछोरे’ले राम्रो ओपनिङ गरेको बलिउड ट्रेन्ड एनालिस्टहरुले बताएका छन् । सुशान्त सिंह राजपुत तथा श्रद्धा कपुर स्टारर यस चलचित्रले बक्स अफिसमा पहिलो दिन ७ .३२ करोड भारु कमाइ गर्दै मध्यम सुरुवात गरेको थियो भने दोस्रो दिन दुई गुणाले बढाउँदै १२ .२५ करोड भारु कमाई गर्न सफल भयो । यसै गरी तेस्रो दिन आइतबार छिछोरेले १६ .४१ करोड भारु कमाउन सफल भएको छ ।

यो सँगै ‘छिछोरे’ले तिन दिने विकेण्डमा कुल ३५ .९८ करोड भारु कमाएको छ । साजिद नाडियाड्वालाको लगानीमा निर्माण भएको चलचित्रमा सुशान्त सिंह राजपुत र श्रद्धा कपुरका अलावा वरुण शर्मा, ताहिर राज वसिन, नवीन पोलिसेट्टी, तुषार पाण्डे, सहर्ष कुमार शुक्ला, प्रतीक बब्बर लगायतका कलाकारको अभिनय रहेको छ । दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् ।