पछिल्लो समय बलिउड अभिनेता अक्षय कुमार अलराउन्डर हिट अभिनेताको रूपमा आइरहेका छन् । उनी अभिनीत हरेक चलचित्र हिट हुने गरेका छन् र त निर्माताहरू उनलाई लिएर चलचित्र बनाउन लागिपरेका छन् । यति बेला उनको हातमा एकपछि अर्को गर्दै चलचित्र आइरहेका छन् र आगामी वर्षका मुख्य बिदाहरूमा उनकै चलचित्र प्रदर्शनमा आउने समेत पक्का भैसकेको छ । उनको पछिल्लो चलचित्र हो ‘मिसन मङ्गल’ । जसलाई दर्शक तथा समीक्षकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । चौथो हप्तामा प्रदर्शन भइरहेको यस चलचित्रले २ सय करोड कमाउन सफल भएसँगै २ सय करोड कमाउने अक्षयको पहिलो चलचित्र बन्न पुगेको छ ।
भारतको एक वैज्ञानिकको मङ्गल ग्रहमा यान पठाउने योजनाको कथामा बनेको चलचित्रमा विद्या बालन, तापसी पन्नु लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ । फिल्मले पहिलो पाँच दिनमै १०० करोड कमाउन सफल भएको थियो ।