बलिउड अभिनेता आयुष्मान खुरानाको डिमान्ड पछिल्लो समय निकै बढेको छ । उनले काम गरेका चलचित्रलाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् । पछिल्ला वर्षहरूमा उनले एक पछि अर्को गर्दै राम्रा चलचित्र दिइरहेका छन् । यति बेला उनी अभिनीत चलचित्र 'ड्रीम गर्ल' प्रदर्शन भइरहेको छ । क्रिटिक्सबाट निकै राम्रो रिभ्यू र रेटिङ मिलेको यस चलचित्रले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । योसँगै यस चलचित्र आयुष्मानको सबैभन्दा ठुलो ओपनर बनेको छ । पहिलो दिन बक्स अफिसमा सानदार प्रदर्शन गर्दै १० करोडभन्दा पनि बढीको व्यापार गरेको छ । यसै गरी दोस्रो दिन चलचित्रले १६ करोडको व्यापार गरेको छ ।

दुई दिनमै २६ करोड माथिको व्यापार गरेको यो चलचित्रले आज आइतबार २० करोडको हाराहारीमा व्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा आयुष्मानको काम, यसमा प्रयोग भएका संवादलाई दर्शकले रुचाएका छन् । राज शान्दिल्याको निर्देशनमा बनेको यो चलचित्रमा नुश्रत भरुचा, अन्नु कपुर, विजय राजको पनि अभिनय छ । चलचित्रलाई शोभा कपुर र एकता कपुरले निर्माण गरेका हुन् ।