बलिउड अभिनेत्री कंगना रनावत कहिले आफ्नो अभिनयका कारण सधैँ र कहिले उनको कडा अभिव्यक्तिको कारण चर्चामा आउने गर्छिन् । बेलाबेला उनले निकै आलोचना खेप्नु पर्ने हुन्छ तर पनि उनलाई यस्ता कुराले कत्ती पनि असार गरेको देखिँदैन । यति बेला उनी भारतीय चर्चित राजनीतिज्ञ स्वर्गीय जयाललिताको बायोपिकमा काम गर्दै छिन् । चलचित्रको तयारीको लागी अर्थात् प्रोथेटिक्सका लागी केही दिन अगाडि अमेरिकाको लस एन्जल्स पुगेकी थिइन् । चलचित्रको मेकरले हलिउडका चर्चित आर्टिस्ट जासोन क्लोइन्सलाई चलचित्रका लागि चयन गरेको छ । अहिले उनको स्टुडियोमा नै कंगनाको लुक्स परिवर्तन गर्न मापन लिने काम भइरहेको छ । कंगनाको टिमले ‘कंगना अहिले कृत्रिम अङ्ग मापनका लागि जासोनको स्टुडियोमा छिन् ।’ भन्दै ट्विटरमा तस्बिर सार्वजनिक गरेको छ ।

कंगनाको जन्मदिनको अवसर पारेर मार्च महिनामा घोषणा गरिएको यस चलचित्रको तयारीले चलचित्र विशेष हुने अनुमान लगाउन सकिन्छ । कंगनाले जयाललिताको बायोपिक आफ्नो कथासँग धेरै हदसम्म मिल्ने बताएकी थिइन् । साथै कंगनाले जयाललिता शताब्दीकै सफल महिला नेतृ भएको भन्दै उनको बायोपिकमा काम गर्न पाउँदा खुशी लागेको उल्लेख गरेकी थिइन् । तामिल र हिन्दी भाषामा तयार गरिने चलचित्रको नाम तामिलमा नाम ‘थलाइभी’ र हिन्दीमा नाम ‘जया’ राखिएको छ ।