बलिउड अभिनेता सैफ अलि खान अभिनीत चलचित्र ‘लाल कप्तान’को ट्रेलर सार्वजनिक भएको छ । सेफ अलि खान पछिल्लो समय कम चलचित्रमा देखिन थालेका छन् । उनी अभिनीत चलचित्र व्यापारिक रूपले असफल रहे पनि समीक्षकले भने राम्रो भन्ने गरेका छन् । यसैबिच केही समयको अन्तराल पछि उनी अभिनीत चलचित्र 'लाल कप्तान' आउन लागेको हो । जसको सार्वजनिक ट्रेलरलाई पहिलो भाग भनिएको छ । ट्रेलरमा उनी एक अघोरी साधुको रूपमा देखिएका छन् । दीपक वेन्कटेश र नवदीप सिंहको लेखन रहेको चलचित्रलाई नवदीप सिंहले निर्देशन गर्दै छन् ।

एक्सन ड्रामा विधामा बनाइएको उक्त चलचित्रमा सेफसँगै मानव विज, जोया हुसेन, दीपक डोब्रियाल, सिमोनी सिंह लगायतका कलाकारको अभिनय रहने छ भने चलचित्र अक्टोबर १८ देखि प्रदर्शनमा आउँदै छ । यस पछि सेफका दिल बेचारा, जवानी जानेमन, तानाजी लगायतका चलचित्र लाइनमा छन् । पछिल्लो समय सैफलाई वेब सिरिज बाट राम्रो प्रतिकृया मिलिरहेको छ र उनी त्यसमा सक्रिय देखिन्छन् ।