पछिल्लो समय बलिउड अभिनेता अक्षय कुमारका एक पछि अर्को चलचित्र ब्लक बस्टर साबित भइरहेका छन् । अक्टोबर २५ बाट प्रदर्शनमा आएको उनी स्टारर 'हाउसफुल ४' ले उत्साहजनक व्यापार गरिरहेको छ । यसैबिच अक्षयको अर्को कमेडी चलचित्र ‘गुड न्युज’को पहिलो पोस्टर सार्वजनिक भएको छ । क्रिसमसको अवसर पारेर डिसेम्बर २७ देखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अक्षय सहित करिना कपुर, दिलजित दोसांझ र कियरा अडवानी मुख्य भूमिकामा रहेका छन् । चलचित्रको सार्वजनिक पोस्टरमा चार जना मुख्य कलाकालाई स्थान दिइएको छ । जसमा नायिका द्वय करिना र कियरालाई गर्भवती अवस्थामा देखाइएको छ भने दुईको बिचमा अक्षय र दिलजित छन् । कमेडी ड्रामा विधामा बनेको चलचित्रलाई राज मेहताले निर्देशन गरेका हुन् भने हिरु जोहर, अरुणा भाटिया, करण जोहर, अपूर्व मेहता र शशाङ्क खैतान चलचित्रका निर्माता हुन् । चलचित्रलाई ज्योति कपुर, राज मेहता र रिशब शर्माले लेखेका हुन् ।