एउटा चलचित्र सफल हुन ठुलो बजेट, स्टारकास्ट, अनि निकै जटिल कथा बस्तु चाहिन्छ भन्ने होइन । एउटा चलचित्र सफल हुनको लागी सरल तरिकाले बगेको सबैले बुझ्ने कथा, कलाकारको जेन्युन काम र आवश्यक पर्ने ठाउँमा खर्च गरिएको चलचित्र हुनुपर्छ । यसको ताजा उदाहरण हो बलिउड अभिनेता आयुष्मान खुरानाको 'बाला' । २५ करोड भारुमा निर्माण भएको एक सामान्य कथा बस्तुमा बनेको यस चलचित्रले २५ वर्षको उमेरबाट आफ्नो कपाल गुमाउन थालेको एक युवकको भोगाइको कथा भन्छ । जसलाई दर्शकले निकै रुचाएका छन् । चलचित्रले १०० करोड मा थि को व्यापार गरिसकेको छ जुन ठुला ब्यानरमा बनेका स्टारकास्ट स्टारर चलचित्रको लागी पनि धौ धौ पर्ने व्यापार हो । चलचित्र र अभिनय लाई विशुद्ध प्यासनको नजरमा हेर्ने कलाकारको लागी यो कुरा निकै महत्त्वपूर्ण लाग्छ ।
यसै विषयमा बलिउडका मिस्टर पर्फेक्सनिस्टको रूपमा चिनिएका अभिनेता आमिर खानले दर्शक चलचित्रको बजेट हेरेर हलमा आउँदैनन् भनेका छन् । एउटा चलचित्र चल्न र सफल हुन दर्शकको मन जित्न सक्नुपर्छ भन्नेमा जोड दिएका छन् । आमिरको ‘ठग्स अफ हिन्दुस्तान’ असफल भएपछि उनले सार्वजनिक रूपमा दर्शकसँग माफी मागेका छन् । उनले आफ्नो चलचित्रमाथि दर्शकको ठुलो अपेक्षा हुने र त्यो अपेक्षा पुरा गर्ने जिम्मेवारी आफ्नो भएको बताएका थिए । आमिर यति बेला चलचित्र ‘लाल सिंह चड्डा’को लागी व्यस्त छन् । यस चलचित्रले दर्शकको अपेक्षा पुरा गर्ने उनको विश्वास रहेको छ ।