भारतका वरिष्ठ सङ्गीतकार अनु मलिकलाई यौन शोषणको आरोप लागेको छ । यौन शोषण विरुद्धको मिटु मुभमेन्टको चर्चा सँगै विश्व भरबाट लोकप्रिय कलाकार देखी समाजमा गिने चुनेका व्यक्तिहरूले गरेको यौन शोषणको पर्दा खुल्दै आएको छ । भारतमा पनि निकै चर्चित र कलाकार, गायक र अन्य माथिल्लो ओहोदाका व्यक्तिहरूलाई यो आरोप लागिसकेको छ । जसमा अनु मलिकको नाम पनि थपिएको छ । यौन शोषण गरेको आरोप लागेपछि मलिकले चर्चित टेलिभिजन कार्यक्रम ‘इन्डियन आइडल’ छोडेका छन् । बिहीबार सोना महापात्राले भारतकी महिला तथा बाल विकास मन्त्री स्मृति इरानीलाई खुला पत्र लेख्दै यस विषयमा बोल्न आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले सोनी टिभीसँग पुरा मामलाको सफाइ मागेको थियो । उनले यौन शोषणको आरोप लागेका मानिसलाई काममा राख्ने सोनी टिभी प्रति असन्तुष्टि जनाएकी थिइन् । 'इन्डियन आइडल’मा मलिक जज हुनुमा उनले आपत्ति जनाएकी थिइन् । अघिल्लो वर्ष सोना महापात्रा, नेहा भसीन र श्वेता पण्डितले मलिकमाथी यौन शोषणको आरोप लगाएका थिए । जस कारण उनलाई सोबाट निकालिएको थियो । इन्डियन आइडलको ११ औँ सिजनमा पनि मलिकलाई नै जज बनाएपछि ती महिलाले लगातार विरोध गर्दै आएका थिए ।