बलिउड चलचित्र ‘जर्सी’मा अभिनेता शाहिद कपुरले क्रिकेटरको भूमिका निभाउँदै छन् । यसै चलचित्रमा अभिनेता पङ्कज कपुर अर्थात् शाहिदका पिताको इन्ट्री भएको छ । शाहिदको गुरुको भूमिका निर्वाह गर्नेछन् । पङ्कजले छोरा शाहिदसँग पुनः एक पटक स्क्रिन शेयर गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् । छोराको अभिनयको आफै प्रशंसक भएको र बलियो र इमोसनल कथा भएको चलचित्रमा छोराको गुरुको भूमिका निभाउनु आफ्नो लागी ठुलो कुरा भएको भनेका छन् । आगामी साता भारतको चन्ढीगढबाट छायाङ्कन सुरु हुने चलचित्रमा शाहिदको अपोजिट मृणाल ठाकुर देखिँदै छिन् । मृणालले पछिल्लो चलचित्र ‘सुपर ३०’बाट तारिफ बटुलेकी थिइन् । गौतम तिन्नानुरीले निर्देशन गर्ने सिनेमा तेलुगु ‘जर्सी’को रिमेक हो । उनले नै निर्देशन गरेको ‘जर्सी’को तेलुगु भर्सन व्यावसायिक र समीक्षात्मक रूपमा सफल ठहरिएको थियो । सहिद र पङ्कजले यसअघि ‘मौसम’ र ‘सानदार’मा स्क्रिन शेयर गरिसकेका छन् । तर, दुवै बक्स अफिसमा असफल भएका थिए ।