बलिउड अभिनेता अमिताभ बच्चनको मुख्य भूमिका रहेको चलचित्र ‘ब्रह्मास्त्र’को प्रदर्शन मिति सारिएको छ । अमिताभका साथमा नायक रणवीर कपुर र नायिका आलिया भट्टले स्क्रिन सेयर गरेको यस चलचित्र यही वर्षको क्रिसमसमा प्रदर्शन गर्ने तयारी गरिएको थियो । प्रदर्शन मिति नजिकिँदै जाँदा भीएफएक्सको काम नसकिएको भन्दै चलचित्र अर्को वर्षको समरसम्म धकेलिएको छ । यति बेला चलचित्रको छायाङ्कन मनालीमा भइरहेको छ । यसपछि, चलचित्रको एक गीतको छायाङ्कन गर्न बाँकी नै रहेको निर्माणपक्षले बताएको भारतीय मिडियाले लेखेका छन् । चलचित्रका निर्देशक आयन मुखर्जी यसलाई बलिउडकै सबैभन्दा ठुलो चलचित्र बनाउन चाहन्छन् । यसैले, यसको निर्माण टिमले कुनै पनि सम्झौता नगर्ने बताएको छ । यही कारणले गर्दा चलचित्रको प्रदर्शन मिति बारम्बार सरेको हो । चलचित्रको छायाङ्कन सकिएपछि भीएफएक्सको काम बल्ल सकिनेछ । यता भीएफएक्स कम्पनीले चलचित्रलाई समरमा तयार गर्न नसकिने जानकारी दिएको छ ।