गत शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘पति पत्नी औ वो’ ले सुखद व्यापार गरिरहेको छ । कार्तिक आर्यन, भूमि पेडणेकर र अनन्या पाण्डेको मुख्य भूमिका रहेको यस चलचित्रले पहिलो दिन जबरजस्त ओपनिङ गरेको थियो । चलचित्रले ९ करोड १० लाखको ओपनिङ गरेको थियो । यसैगरी दोस्रो दिन शनिवार १२ करोड ३३ लाखको व्यापार गरेको चलचित्रले आइतबार १४ करोड ५१ लाख कमाउँदै बक्स अफिसमा अग्रपङ्क्तिमा आउन सफल भएको छ । चलचित्रको ‘वर्ड अफ माउथ’ बलियो भएका कारणले सय करोडको आँकडा छुने अनुमान सजिलै गर्न सकिने बलिउड ट्रेण्ड एनालिस्ट तरण आदर्शले उल्लेख गरेका छन् । यस चलचित्र अभिनेता कार्तिक आर्यनको करिअरको सबैभन्दा ठुलो ओपनर बनेको छ । ‘पति पत्नी औ वो’ भन्दा अगाडि यो रेकर्ड ‘लुका छुपी’ को नाम थियो । जसले प्रदर्शनको पहिलो दिन ८ करोड १ लाखको व्यापार गरेको थियो ।