बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको चलचित्र 'छपाक'को ट्रेलर सार्वजनिक भएको छ । एसिड पीडितको कथामा बनेको चलचित्रमा दीपिकाले एसिड पीडित युवती मालतीको भूमिकामा देखिएकी छन् । सार्वजनिक ट्रेलरमा एसिड आक्रमण पछि जीवन पाएकी एक युवतीले कसरी पिडायुक्त जीवन व्यथित गर्नु पर्ने हुन्छ र यही पिडा दायक जीवनमा उसले साहस सकारात्मक सोच र आत्मविश्वासले कसरी समाजमा उदाहरणीय व्यक्तिको रूपमा स्थापित हुन सक्छ भनेर देखाइएको छ । एसिड आक्रमणबाट बचेकी एक युवती लक्ष्मी अग्रवालको वास्तविक जीवनमा आधारित रहेको यस चलचित्र आगामी वर्षको जनवरी १० मा प्रदर्शनमा आउने छ । शनिवार रिलिज भएको ट्रेलरलाई निकै राम्रो प्रतिक्रिया मिलेको छ भने ट्रेलरले भावुक बनाएको पनि दर्शकले कमेन्ट गरिरहेका छन् । विवाह गर्न नमानेको भन्दै उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर लक्ष्मी अग्रवालमाथि एसिड प्रहार गरेका थिए । सो घटनामा बाँचेकी उनी एसिड हिंसाविरूद्धको अभियान कर्ता बनेकी छन् । चलचित्रलाई 'राजी' निर्देशक मेघना गुलजारले निर्देशन गरेकी छिन् ।