बलिउड अभिनेत्री आलिया भट्ट सन् २०१९ को एसियाको सबैभन्दा सेक्सी महिला बनेकी छिन् । आलिया पहिलो स्थानमा छिन् भने दीपिका पादुकोण दोस्रो स्थानमा छिन् । लन्डनको एक साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ ले अनलाइन भोटिङ गर्दा यी दुई अभिनेत्री शीर्ष स्थानमा पर्न सफल भएका हुन् । २०१९ आलियाको लागी सुखद वर्ष मानिएको छ । उनले यो वर्ष विभिन्न अवार्ड हात पारेकी छिन् भने उनी अभिनीत चलचित्र ‘गली बोय’ लाई सन् २०२० को ओस्करका लागि नोमिनेट भएको छ । आलियाले एसियाको सबैभन्दा सेक्सी महिलाको सूचीमा समावेश भएकोमा खुसी व्यक्त गरेकी छिन् । उनले ‘हामी बुढा–बुढी हुन्छौँ, कस्तो देखिन्छौँ त्यो समयसँगै परिवर्तन हुन्छ तर तपाईँ मनबाटै सुन्दर हुनुहुन्छ भने तपाईँ सधैँ सुन्दर हुनुहुन्छ र हामीले यही कुरामा ध्यान दिनुपर्छ’ भनेकी छिन् । सन् २०१८को सर्भेमा दीपिका पहिलो स्थानमा पर्न सफल भएकी थिइन् । यस पटक दीपिकाले दशककै सबैभन्दा सेक्सी महिलाको ताज आफ्नो पोल्टोमा पारेकी छिन् । यो सूचीको तेस्रो स्थानमा टेलिभिजनकी कलाकार हिना खान पर्न सफल भएकी छिन् ।