अक्षय कुमारको नयाँ चलचित्र ‘गुड न्युज’ को प्रदर्शन मिति नजिकिँदै छ । प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रको प्रचार प्रसारको लागी चलचित्रका मुख्य अभिनेता अक्षय र दिलजीत दोसांझले फरक उपाय लगाएका छन् । चलचित्रमा अक्षय र करिनाले विवाहित जोडीको भूमिका निभाएका छन् जसले आमा–बुवा बन्नका लागि आइभिएफ प्रविधिको सहारा लिएका छन् । कहानीमा ट्वीस्ट त्यति बेला आउँछ जब एकै थर भएका कारण वीर्य अर्को जोडीसँग साटिन्छ । दिलजीत दोसांझ र कियारा आडवाणीले त्यही अर्को जोडीको भूमिका निभाएका छन् । यसैबिच चलचित्र निर्माता धर्मा प्रोडक्सनले एउटा भिडियो जारी गरेको छ, जसमा भिडियोमा अक्षय कुमार र दिलजीत दोसांझ प्रसव पीडा महसुस गर्नका लागि एउटा परीक्षण गरिरहेको देख्न सकिन्छ ।
भिडियोमा उनीहरूले प्रसव पीडाको महसुस गराउने उपकरणको प्रयोग गरेका छन् । भिडियोमा पीडाको मात्रा बढाए अनुसार त्यति नै दिलजीत र अक्षय चिच्याउन थाल्छन् । उक्त परीक्षणपछि 'अक्षय र दिलजीतले बच्चा जन्माउनु निकै मुस्किल काम भएको अझ डाक्टरले बताए अनुसार हामीले परीक्षणको क्रममा जति पीडा महसुस गर्नुपर्यो महिलाले वास्तवमा त्योभन्दा निकै धेरे पीडा महसुस गर्नुपर्छ । हामी संसारका सबै महिलाको सम्मान गर्छौँ जसले यो पीडा सहन्छन् ।' भनेका छन् । ‘गुड न्युज’ २७ डिसेम्बरमा रिलिज हुँदैछ ।