एक समय बलिउडमा एक छत्र राज गरेकी नायिका करिना कपुरले करियरको सुरुवातमा न कुनै अडिसन दिनु पर्यो न सङ्घर्ष नै गर्नु पर्यो । जीवनमा कहिल्यै फिल्मको लागी अडिसन नदिएकी उनले बलिउड यात्राको १९ वर्ष पछि चलचित्रको लागी अडिसन दिएकी छिन् । उनले भर्खर आमिर खानको चलचित्र ‘लाल सिंह चड्डा’का लागि अडिसन दिएकी हुन् । उनले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्, 'आजसम्म अडिसन दिएको थिइनँ । न त कोहीले मलाई चलचित्रमा काम गर्नु अगाडि कुनै दृश्यमा अभिनय गर्न आग्रह नै गरेका थिए । तर, मैले ‘लाल सिंह चड्डा’का लागि अडिसन दिनुको एउटै कारण आमिर खान हुन्' । चलचित्रको कथा पढेपछि आफ्नो भूमिकालाई न्याय गर्न सक्छु भनेर सोचिसकेको उनले बताएकी छिन् । आफूलाई अडिसन दिन श्रीमान् सैफअली खानले पनि सल्लाह दिएको करिनाले बताएकी छिन् । उनले भनेकी छिन्, 'मलाई अडिसन दिँदा रिजेक्ट हुन्छु कि भनेर डर लागेको थिएन । सैफले पनि मलाई यो ठुलो कुरा होइन भनेर सुझाव दिएका थिए ।' आफूले चालेको यो कदमले सम्पूर्ण फिल्म इन्डस्ट्रीमा नै राम्रो सन्देश जाने उनको विश्वास छ ।