भारतका चर्चित अभिनेता श्रीराम लागुको निधन भएको छ । मङ्गलवार ९२ वर्षको उमेरमा उनको निधन भएको हो । सयभन्दा बढी चलचित्रमा अभिनय गरेका उनको मराठी चलचित्र र मराठी नाटकको क्षेत्रमा बिर्सनै नसकिने योगदान रहेको छ । उनको जन्म सन् १९२७, नोभेम्बर १६ मा सतारामा भएको थियो । उनले चलचित्रमा गरेको चरित्र अभिनयका लागि प्रशंसित छन् । लागुको निधनमा महा राष्ट्रका ठुला नेताले शोक व्यक्त गरेका छन्। उनको निधनमा एनसिपी प्रमुख शरद पवार, केन्द्रीय मन्त्री प्रकाश जावडेकर र नितिन गडकरीले ट्विटमा शोक व्यक्त गरेका छन् । 'आहटःएक अजिब कहानी', 'पिंजरा', मेरे साथ चल', 'सामना', 'दौलत' उनका सफल चलचित्रमा पर्छन् । सन् १९७८ मा चलचित्र 'घरौंदा'को लागि उनलाई सर्वश्रेष्ठ सहायक अभिनेताको फिल्म फेयरको पुरस्कार दिइएको थियो ।