बलिउडमा अभिनेता सलमान खानले आज पाइरहेको सान, डिमान्ड र स्टारडमको पछाडि राजश्री प्रोडक्सनको ठुलो हात रहेको छ । उनले ‘मेने प्यार किया’ मार्फत बलिउडमा डेब्यु गरेका थिए । सुरज बड्जात्याको निर्देशनमा बनेको मेने प्यार किया सफल भएसँगै निर्देशक सुरज र नायक सलमान दुबैका दिन फर्किए र कहिल्यै पछाडि फर्कनु परेको छैन । उनै निर्देशक सुरजका छोरा देवांश बड्जात्या निर्देशकको रूपमा बलिउडमा डेब्यु गर्दै छन् । आफूलाई इन्डस्ट्रीमा स्थापित गराएका सुरजलाई सलमानले उनको छोराको काममा सघाउने बाचा गरेका थिए । देवांशले आफ्नो डेब्यु फिल्ममा कार्तिक आर्यनलाई लिने खबर बलिउड मिडियामा बाहिरिए पनि यो खबर सत्य नभएको राजश्री प्रोडक्सनले बताएको छ । योसँगै सलमानकै भूमिकालाई मुख्य बनाएर देवांश चलचित्रको स्क्रिप्ट तयार गरिरहेको खबर बाहिरिएको छ । राजश्री प्रोडक्सनले देवांशको डेब्यु सलमानसँगै हुने स्पष्ट समेत पारेको छ । उनलाई मेने प्यार कियाको प्रेमको अवतारमा नै प्रस्तुत गर्ने योजना रहेको मिडियाले लेखिरहेका छन् ।