यही १० जनवरीमा रिलिज हुने तयारीमा रहेको बलिउड चलचित्र 'छपाक'लाई कथा चोरीको आरोप लागेको छ । यति बेला दीपिका पादुकोण अभिनीत यस चलचित्र निकै चर्चामा छ । आरोप मात्र होइन, लेखक राकेश भारती फिल्मको प्रदर्शनमा रोक माग गर्दै अदालत पुगेका छन् । भारतीले मुम्बईको उच्च अदालतमा मुद्दा दायर गरेका छन् । उनले आफूले लेखेको कथा र पटकथा चोरेर यो फिल्म बनाइएको दाबी गरेका छन् । उनले आफूले फिल्म निर्माता सङ्घ आफ्नो स्क्रिप्ट दर्ता गराएको भन्दै आफूले लेखेको र फिल्मको स्क्रिप्ट तुलना गरेर फैसला गर्न पनि माग गरेका छन् । एसिड आक्रमणमा परेकी पीडितको कथामा बनेको यस फिल्ममा अभिनेत्री दीपिकाले मालतीको भूमिका निभाएकी छिन् । मालतीलाई उनको प्रेमीले एसिड छ्यापेर उनको रूपलाई कुरूप बनाए पछि मालतीले न्याय पाउन गरिएको सङ्घर्षलाई चलचित्रमा देखाइएको छ ।

मेघा गुल्जारले निर्देशन गरेको चलचित्रलाई आरोप लगाउँदै लेखक भारतीले भनेका छन्, 'स्क्रिप्ट लेख्दै गर्दा नै मैले विभिन्न निर्माताहरुलाई कथा सुनाएको थिएँ । त्यस क्रममा फक्स स्टार स्टुडियोलाई पनि मैले सुनाएको थिएँ । उनीहरूले त्यसैबाट चोरेर बनाएछन् ।' उनले उनले सन् २०१५ को फेब्रुअरीमा निर्माता सङ्घमा आफूले 'ब्ल्याक डे' शीर्षकमा स्क्रिप्ट दर्ता गरेको पनि दाबी गरेका छन् । छपाक बनाउन लागेको थाहा पाएपछि उनले निर्माण कम्पनीसँग कुरा गरेको तर कुनै जवाफ नआएको उनी बताउँछन् । यस विषयमा २७ डिसेम्बरमा सुनुवाइ हुने बताइएको छ ।