पछिल्लो समय विश्वभर नै महिलाहरूले भोगेको यौन उत्पीडनको बारेमा बाहिर आउन थालेको छ । विशेष गरी ग्ल्यामर फिल्डमा लागेका महिलाहरू आफ्ना सहकर्मी वा सिनियर बाट पीडित भएको कुरा सार्वजनिक गर्दै आइरहेका छन् । बलिउडमा पनि यस सम्बन्धी कुरा खुलेर बाहिर आउन थालेका छन् । आफूलाई स्थापित अग्रज वा निर्माता निर्देशकले यौन शोषण गरेको आरोप लगाउनेको सङ्ख्या बढ्दै गइरहेको छ । यसै बिच ‘देव डी’ मार्फत बलिउडमा अभिनेत्रीका रूपमा डेब्यु गरेकी कल्की कोचलिनले पनि एक अन्तर्वार्तामा आफू पनि यौन हिंसाको सिकार भएको सुनाएकी छिन् ।  कल्कीले भनेकी छन्, ‘जब देव डी रिलिज भयो। तब कसैले फिल्म मेकरलाई रुसी वेश्या कता मिलिन् भनेर सोधेको सुनेँ । त्यसपछि मैले म रुसी हैन भनेर प्रतिक्रिया दिएँ ।’

३५ वर्षीय फ्रेन्च नागरिक कल्कीले कुराकानीमा आफूमाथि एक निर्माताले समेत यौनको प्रस्ताव राखेको दाबी गरेकी छन् । उनले निर्माताको नाम उल्लेख नगरी भनिन्, ‘उसले प्रत्यक्ष रूपमा त प्रस्ताव गरेको थिएन । तर उसको आशय यही थियो । उ मसँग डेट जान चाहन्थ्यो । मैले सिधै हुँदैन, कहिल्यै पनि भन्दिएपछि उसले मलाई लिएर बनाउने भनेको फिल्मको समेत अत्तोपत्तो भएन ।’ अभिनयका पारङ्गत मानिने कल्की ‘ए जवानी है दीवानी’ को सफलतापछि पनि कल्कीले ८–९ महिनासम्म फिल्ममा काम पाइनन् । आफूले काम नपाउनुमा यौन हिंसाको सिकार हुन नचाहनुलाई नै मुख्य कारण ठान्छिन् उनी । कल्कीले यौन उत्पीडनका लागि बलिउड मात्रै नभई हलिउड पनि मुक्त नभएको आरोप लगाएकी छन् । उनले आफू पनि उत्पीडनको सामना गर्नुपरेको खुलासा गर्दै भनिन्, ‘मेरो यौन उत्पीडन भएको थियो। यसको बारेमा मेरो थेरापिस्ट र पार्टनरलाई पनि भनेको थिएँ ।’