बलिउड सुपरस्टार अक्षय कुमार स्टारर चलचित्र ‘गुड न्युज’ शुक्रवारबाट विश्वभर एकसाथ प्रदर्शनमा आएको छ । यस चलचित्रलाई दर्शक तथा समीक्षकको राम्रो प्रतिक्रिया मिलेको छ । साथै चलचित्रले बक्स अफिसमा सुखद ओपनिङ पनि गरेको छ । यसले प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गरेको थियो भने ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार दोस्रो दिन शनिवार २१ करोड ७८ लाख कमाइ गरेको छ । दुई दिनमा चलचित्रले ३९.३४ करोड कमाउन सफल भएको छ । यो सँगै चलचित्रले आज आइतबार व्यापारमा अझ रफ्तार बढाउने देखिन्छ । बलिउड ट्रेन्ड एनालिस्टका अनुसार ‘गुड न्युज’ले पहिलो हप्तामा नै सय करोडको आँकडा पार गर्न सफल हुने अनुमान लगाउन सकिन्छ । चलचित्रको सफलताको लागी चाहिने ‘वर्ड अफ माउथ’ राम्रो भएकाले पनि लामो रेसको घोडा बन्ने पक्क भएको छ ।
यति बेला हलमा सलमान खान स्टारर 'दबंग ३' दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ तर यसलाई दर्शक तथा समीक्षकको औसत प्रतिक्रिया मिलेको छ । जसको फाइदा ‘गुड न्युज’लाई पर्ने देखिन्छ । राज मेहेता निर्देशित चलचित्र ‘गुड न्युज’मा अक्षय कुमार, करीना कपूर, दिलजित र कियारा आडवाणी लगायतको मुख्य भूमिका रहेको छ । कमेडी जनरामा निर्माण भएको यस चलचित्रमा ज्योति कपूरको कथा र पटकथा रहेको छ । चलचित्र बच्चा नभएका दुई दम्पतीले बच्चाका लागि विट्रो फर्टिलाइजेशन आइभिएफ टेक्नोलोजीको सहारा लिँदा भएको कन्फ्युजन नै चलचित्रको मूल कथा हो ।