बलिउडका बाघ अभिनेता अमिताभ बच्चन आफ्नो ७६औं वसन्तमा हिँडिरहेका छन् । बलिउडमा उनले कदम राखेको पनि ५० वर्ष वर्ष भयो । यस बिच उनले बलिउडलाई के चाहिँ दिएनन् होला र ? यसको कदर स्वरूप बलिउडले पनि उनलाई धेरै कुरा दिएको छ । उनलाई नाम, सम्मान, र राष्ट्रको गहनाको उपनाम दिएको छ बलिउडले । उनलाई सम्मान स्वरूप हरेक वर्ष बलिउडका पिता मानिने निर्माता, निर्माता एवं लेखक धुढिराज गोविन्द फाल्के उर्फ दादा साहेब फाल्केको नामको पुरस्कार दिइएको छ । बलिउडको सर्वाधिक धेरै नगद राशिसहितको प्रतिष्ठित पुरस्कार गत २३ डिसेम्बरमा आयोजना भएको राष्ट्रिय फिल्म अवार्ड कार्यक्रममा नै घोषणा गरिएको थियो । तर उक्त कार्यक्रममा बच्चन उनको स्वास्थ्यको कारण जान सकेनन् । अस्वस्थताका कारण उपस्थिति जनाउन नपाएका उनलाई आइतबार पुरस्कृत गरियो । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उनलाई चौध हजार अमेरिकी डलरसहितको पुरस्कार प्रदान गरियो । राष्ट्रपतिको हातबाट पुरस्कार लिँदै उनले 'ममाथि भगवानको कृपा छ । आमाबुबाको आशीर्वाद छ । फिल्म निर्माता, निर्देशक, सह-कलाकारको साथ रह्यो अनि सबैभन्दा महत्त्वपूर्ण भारतीय जनताको स्नेह र प्रोत्साहन रह्यो जसका कारण म आज यहाँ उभिएको छु' भने । उनले हालसम्म चार राष्ट्रिय फिल्म पुरस्कार र पन्ध्र फिल्म फेयर अवार्ड जितेका छन् । सन् २०१५ मा त बच्चनलाई पद्म विभूषणले सम्मानित गरिएको थियो । उनले सन् १९६९ मा 'सात हिन्दुस्तानी'बाट फिल्ममा डेब्यु गरेका थिए । अहिले पनि उनी केही चलचित्रमा आबद्ध छन् । हात हालेका काम सकेर उनी बलिउडबाट रिटायर्ड हुने बताइरहेका छन् ।