२०१९को 'गोल्डेन ग्लोब'मा उत्कृष्ट अभिनेताको अवार्ड ज्याकिन फिनिक्सले हात पारेका छन् । वर्षको चर्चित एवं विवादास्पद चलचित्र 'जोकर'का लागी उनलाई अवार्ड दिइएको हो । यसै वर्षको क्यान फिल्म फेस्टिभलमा पनि उनी उत्कृष्ट अभिनेता घोषित भएका थिए । उनले क्यानमा 'पेन एन्ड ग्लोरी'का एन्टोनियो बेन्डेरस र 'फोर्ड भर्सेस फरारी'का क्रिस्चियन बेललाई पछि पारेका हुन् । गोल्डेन ग्लोबलाई धेरैले ओस्करको प्रिभ्यु पनि भन्ने गर्छन् । यसर्थ फिनिक्सले यस वर्ष ओस्कर पाउने सम्भावना रहेको छ । अभिनेत्रीमा भने ड्रामा तर्फ फिल्म 'जुडी'की रेने जेल्वेगर र कमेडी तथा म्युजिकलमा 'दी फेयरवेल'का लागि वाकाफिना उत्कृष्ट घोषित भए । ड्रामा तर्फ साम मेन्डिसको पहिलो विश्वयुद्धमा आधारित चलचित्र '१९१७'ले उपाधि जित्यो । निर्देशक तर्फको उपाधि साम मेन्डिसले नै हात पारेका छन् । कमेडी तथा म्युजिकलमा क्वान्टेन टोरेन्टिनोको 'वान्स अपन अ टाइम इन हलिउड' उत्कृष्ट फिल्म घोषित भयो । यसै चलचित्रका लागि टोरेन्टिनोले उत्कृष्ट पटकथाको अवार्ड पनि पाए । सह अभिनेताको अवार्ड 'वान्स अपन अ टाइम इन हलिउड'कै लागि ब्रड पिटलाई दिइयो ।