नेपाली चलचित्र ‘पासवर्ड’ निर्माण कम्पनी एबी इन्टरनेशनलले बलिउड चलचित्र निर्माण गर्दै छ । अमित बस्नेत र अजित केआर थापाले निर्माण गर्ने चलचित्र ‘लैला मन्जु’ को छायाङ्कन सुरु भएको छ । यसलाई प्रेमराज सोनीले निर्देशन गर्दै छन् । जनवरी २ देखि युकेमा छायाङ्कन सुरु भएको चलचित्रमा फरिदा जलाल, शशाङ्क व्यास, अभिमन्यु टोमर, नेहाल चुडास्मा, जेसी लिभर, लुलिया भन्तुर, महेश मंजेकर, जिम्मी शेर्गिल, रजित कपूर, निकी अनेजालगायत कलाकारको अभिनय रहने छ । निर्देशक प्रेमराज सोनीले यसअघि ‘इश्क इन पेरिस’ बलिउड चलचित्र निर्देशन गरेका थिए ।
अभिनेत्री फरिदा जलालले ५ दशक लामो अभिनय यात्रामा २ सय बढी चलचित्रमा काम गरिसकेकी छिन् । हृडोय डेका मुख्य सहायक निर्देशक रहेको चलचित्र २०२० मा रिलिज हुने निर्माता अमित बस्नेतले जानकारी दिएका छन् । ‘लैला मन्जु’को सम्पूर्ण छायाङ्कन लन्डनमा हुनेछ । एबी इन्टरनेशनलसँग निर्माणमा डी.एन .ए पिक्चर्सले सहकार्य गरेको छ । एबी इन्टरनेशनलले निर्माण गरेको नेपाली चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको लागि तयारीमा छ । यसैगरी बलिउड चलचित्र ‘वेलकम टु लन्डन’को पनि निर्माणको लागी तयारी भइरहेको छ ।