बाफ्टा अवार्डलाई ओस्कार अवार्डको समानान्तर समारोहका रूपमा पनि हेर्ने गरिन्छ । ‘ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स’ ले बाफ्टा अवार्डको मनोनयन सार्वजनिक गरेको छ । ओस्कारको समानान्तर मानिने बाफ्टाले सार्वजनिक गरेको यस पटकको मनोनयनलाई लिएर अवार्डलाई रंगभेदी भएको आरोप लागेको छ । ७३ औँ संस्करणमा आइपुग्दा पनि बाफ्टा विवादमुक्त हुन भने सकेन । मनोनीतको नामावली सार्वजनिक गरिएपछि बाफ्टा जातीय विविधतामा चुकेको आरोप सामाजिक सञ्जालमा चर्किएको छ । मनोनयनमा अश्वेत जातिका सर्जकहरू नपरेकोमा आलोचकहरूले रोष व्यक्त गरेका छन् । सन् २०१५ मा ट्विटरमा रंगभेदविरुद्ध ह्यासट्याग क्याम्पेन चलाएर ओस्कार अवार्ड रंगभेदी र जातीय भएको आरोप लगाएकै समूह यति बेला बाफ्टाप्रति खनिएको हो । बेलायती फिल्म समीक्षक गे लजले समेत यस प्रति असन्तुष्टि प्रकट गरेका छन् ।
आलोचना बढ्दै गएपछि बाफ्टाकी प्रमुख कार्यकारी अमान्दा बेरीले ‘बाफ्टाले यहाँ आफ्नै भूमिका निर्वाह गरिरहेको छ । न कि यसले फिल्म उद्योगलाई कुन–कुन फिल्महरू प्राथमिकतामा छन् र कसलाई लिनुपर्छ भनेर भन्दैन । तर यसले सक्ने भनेको उत्कृष्ट र क्षमतावान् सर्जकलाई खोजी गर्ने र सहयोग गर्ने मात्र हो ।’ भनेकी छिन् । बाफ्टाले एकेडेमीका झन्डै ६५ सय सदस्यको भोटका आधारमा मनोनयन सार्वजनिक गर्ने गर्छ । मनोनयनमा ‘जोकर’ ले सर्वाधिक ११ विधामा कब्जा जमाएको छ । फिल्मको प्राविधिक, अभिनय र निर्देशन पक्षका लागि वाह वाही कमाएको ‘जोकर’ ले एक भिलेनको चरित्र निर्माणको पृष्ठभूमि खोतल्छ ।