भारतको प्रतिष्ठित विश्वविद्यालय जेएनयु मा जनवरी ५ मा छात्रहरू माथि आक्रमण भएको थियो । नकाबधारीले गरेको आक्रमणको विरोधमा यति बेला भारत मात्र नभएर सिङ्गो बलिउड पनि लागेको छ । नायिका दीपिका पादुकोणले घाइते विद्यार्थीहरूलाई विश्वविद्यालयमा पुगेर भेट गरेकी थिइन् । उनको यस कार्यको तारिफ गर्ने पनि छन् भने उनको विरोध गर्ने पनि देखिएका छन् । यसैबिच नायक अजय देवगणले पनि विद्यार्थी कुटपिटको विषयमा आफ्नो मुख खोलेका छन् । उनले भने–‘म आक्रमण भएपछि निरन्तर टेलिभिजन हेरिरहेको थिएँ । यो एक विवादास्पद घटना हो । मलाई थाहा छैन, यो आक्रमणमा कसको हात छ । तर यो जे भयो, राम्रो भएन ।’ उनले घटना जसले गराए पनि हिंसा राम्रो काम होइन र समाधान पनि होइन भनेका छन् । उनले यस्तो घटनामा पक्ष र विपक्षमा बोलेर आगोमा घिउ थप्ने काम पनि ठिक नभएको बताएका छन् ।