यो वर्ष नेपाली चलचित्रको लागी सुरुवात देखी नै त्यति सुखद हुन सकेको छैन । ४० भन्दा बढी चलचित्र प्रदर्शनमा आए पनि औँलामा गन्न सकिने मात्र चलचित्र सफल भए । यसमा ‘दाल भात तरकारी’, जात्रै जात्रा’, ‘कबड्डी ३’ र ‘छ माया छपक्कै’ लगायत केहीले लगानी सुरक्षित गरेर नाफा कमाए भने बाँकीले दर्शक कुर्ने काम मात्र गरे । विगत तीन हप्ता देखी हल मा नेपाली चलचित्रको खडेरी लागेको छ । बलिउडका ठुला ब्यानरका चलचित्र प्रदर्शनमा आएका बेला नेपाली चलचित्र चेपुवामा पर्ने डरले कुनै नेपाली चलचित्र मैदानमा उत्रने आँट गरेनन् । बलिउड चलचित्र ‘दबंग ३’ प्रदर्शनमा आए यता नेपाली चलचित्र गुमनाम छन् । एकातिर चिसो मौसम अर्को तिर बलिउड चलचित्रको दबदबा नेपाली चलचित्र हेर्न चाहने दर्शकले केही समय अझै पर्खिनु पर्ने भएको छ । यसले मल्टिप्लेक्स हललाई त असार गर्ने कुरै भएन सिङ्गल थिएटर भने निकै मर्कामा परेका छन् ।
यो शुक्रवार पनि हलमा कुनै नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् । अघिल्ला हप्ता प्रदर्शनमा आएका ‘दबंग ३’ र ‘गुड न्यूज’ अझै मल्टीप्लेक्समा प्रदर्शनरत छन् । फेरी बलिउडका दुई प्रतीक्षित चलचित्र ‘छपाक’ र ‘तानाजी’ प्रदर्शनमा आएका छन् । जसलाई मल्टीप्लेक्समा उच्च सोज दिइएको छ । साथै दुई हलिउड चलचित्र ‘अन्डर वाटर’ र ‘डूलिटिल’ पनि प्रदर्शनमा आएका छन् । मल्टिप्लेक्स मा त दर्शकको चहलपहल हेर्न लायक नै छ तर सिङ्गल थिएटरको भने बिजोग भइरहेको छ । एसिड आक्रमणमा परेकी युवतीको सत्य कथामा आधारित चलचित्र ‘छपाक’को चर्चा भारतमा मात्रै नभएर नेपाल लगायत विभिन्न देशमा छ । प्रदर्शन अघि केही विवादमा तानिए पनि चलचित्रले राम्रो शोसँग सुरुवात गरेको छ । नेपालमा पनि सुरुवाती सो मै दर्शकको राम्रो उपस्थिति देखिएको छ । चलचित्रमा दीपिका पादुकोण मुख्य भूमिकामा देखिएकी छिन् । त्यस्तै ऐतिहासिक घटनामा आधारित चलचित्र ‘तानाजी’ले पनि राम्रो सो पाएको छ । अजय देवगण चलचित्रका केन्द्रीय पात्र तानाजी मुल्सारेको भूमिकामा देखिएका छन् । सत्रौँ शताब्दीको कथा रहेको उक्त चलचित्रमा अजयसँगै काजोल तथा सेफ अलि खान मुख्य भूमिकामा छन् ।