बलिउड अभिनेता अक्षय कुमार विरुद्ध मुद्दा दर्ता भएको छ । एक मराठी सङ्गठनले उनी विरुद्ध मुद्दा दर्ताको तयारी थालेका छन् । सङ्गठनले महाराष्ट्रको नान्देडस्थित जिल्ला अधिकारी र प्रहरीलाई पत्रमार्फत अक्षयले एक वासिङ पाउडरको विज्ञापनमा मराठी समुदायको भावनामा चोट पुर्‍याएको बताएका छन् । अक्षयले निर्मा एडभान्स नामक वासिङ पाउडरमा मराठी राजाको भूमिका निभाएका छन् । जसमा उनी लडाई जितेर सेनाहरूसँगै दरबार फर्कन्छन् तर उनीहरूको लुगा फोहोर भएको हुन्छ । त्यसैबिच अक्षयले एक संवाद बोल्छन्- 'महाराजको सेना दुस्मनहरूलाई धुन सक्छन् र आफ्नो कपडा पनि ।' उक्त संवाद र राजा र सेना पात्रहरूले लुगा धोएको दृश्यका कारण मराठी समुदायको अपमान भएको आरोप लगाइएको छ । विज्ञापनले छत्रपती शिवाजी महाराजका समर्थक र उनि प्रती विश्वास गर्ने प्रती अपमान भएको भनिएको छ । साम्भाजी ब्रिगेड नामक मराठी सङ्गठनले बिहीबार नै अक्षय विरुद्ध मुद्दाको माग गरेका हुन् । वाजिरावाद प्रहरीका इन्चार्ज एसएस शिवालेले उजुरीको  पत्रलाई सुपरिटेन्डेन्टको कार्यालयमा पठाएको बताएका छन् । यति बेला वासिङ पाउडर निर्मा विरुद्ध माइक्रो ब्लगिङ साइट ट्विटरमा ह्यास ट्याग सुरु भएको छ ।