तेस्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) आयोजना हुँदै छ । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा फागुन १ देखि ५ गतेसम्म काठमाडौँको राष्ट्रिय सभागृहमा फेस्टिभल आयोजना हुनेछ । यसै फेस्टिभलमा हलिउड फिल्ममेकरले डिजिटल स्ट्रिमिङसम्बन्धी वर्कसप दिने भएका छन् । फिल्म फेस्टिभलका निर्देशक केपी पाठकले हलिउडबाट ल्यारी कासानोफ , ज्याक स्टेन्ज र जोयलोन होफ आउने पक्का भएको बताएका छन् । ‘फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकमा हुने वर्कसपमा हलिउडसँगै नेपालका फिल्ममेकरले पनि आफ्नो अनुभव सेयर गर्नेछन् । ल्यारी कोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन: फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि फिल्म निर्माण गरेका छन् ।  ‘स्ट्रिमिङ साइटलाई केन्द्रमा राखेर तीन जनाले विश्वको अनुभव नेपाली फिल्ममेकरलाई बाँड्नु हुनेछ ।

नेपालमा सक्रियतापूर्वक काम गरिरहेका लेखक, निर्माता, निर्देशकले यो वर्कसपबाट धेरै फाइदा लिनुहुनेछ भन्ने विश्वास पाठकले राखे । वर्कसपमा ज्याक स्टेन्जले पटकथा लेखनको छोटो कक्षासमेत लिनेछन् भने एउटा सेसनमा निश्चल बस्नेत, नकिम उद्दिन र नम्रता श्रेष्ठ स्थानीय फिल्म विश्व बजारमा पुग्न खेपिरहेका चुनौतीका बारेमा हलिउडका फिल्म मकरसँग बहसमा सहभागी हुनेछन् । फेस्टिभलको हलिउड फिल्म मेकरको सेसन राष्ट्रिय सभा गृहमा नभई लाजिम्पाटको -याडिसन होटेलमा हुनेछ ।