बलिउडका चर्चित अभिनेता सलमान खान एकाएक विवादमा आएका छन् । खानले मङ्गलवार गोवा एयरपोर्टका कर्मचारीको हातबाट मोबाइल फोन खोसेपछि विवादमा परेका हुन् । मोबाइल खोसेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै विद्यार्थी सङ्घले सलमान विरुद्ध प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । सलमानले सार्वजनिक रूपमा माफी नमागेसम्म उनलाई प्रतिबन्ध लगाउन भारत काँग्रेसी विद्यार्थी सङ्घ (एनएसयूआई)ले पहल गरेको छ । गोवा भाजपाका महासचिव तथा पूर्व सांसद नरेन्द्र सवाईकरले पनि खानको सो व्यवहारको निन्दा गर्दै माफी माग्नु पर्ने बताएका छन् । सलमान मङ्गलवार चलचित्र ‘राधे’को छायाङ्कनका लागि गोवा पुगेका थिए । गोवाको विमानस्थलमा उनलाई हेर्नका लागि सयौँ फ्यान उपस्थित थिए । एक फ्यानले भने उनको भिडियो बनाइरहेका थिए । सलमानले फ्यानको मोबाइल खोसेर विमानस्थलबाट बाहिरिएका थिए ।