कोरोना भाइरस त्रासका कारण विश्व भर कै आर्थिक अवस्था अस्तव्यस्त भएको छ । करोडौँ लगानीमा निर्माण भएका चलचित्र समयमा प्रदर्शनमा ल्याउन नसक्दा निर्माताहरू मारमा पर्ने निश्चित छ । यसैबिच, मार्चको २७ तारिखबाट रिलिज हुन लागेको बलिउड चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति पछि सारिएको छ । अक्षय कुमार स्टारर रोहित सेट्टी निर्देशित चलचित्र निर्माण कम्पनीले एक विज्ञप्ति जारी गर्दै कोरोनाको कारण पहिलो प्राथमिकता जनताको स्वास्थ्य भएको भन्दै चलचित्रको प्रदर्शन मिति पछि सारेको हो । अभिनेता अक्षय कुमारले पनि जनताको स्वास्थ्य पहिलो प्राथमिकता भएको भन्दै ट्विट गरेका छन् । चलचित्र को ट्रेलर सार्वजनिक भैसकेको छ भने गीत रिलिज  कार्यक्रम पनि स्थगित भैसकेको छ ।

चलचित्र अब कहिले प्रदर्शनमा आउँछ त्यो टुङ्गो छैन । यसमा कट्रिना कैफ, अजय देवगण र रणवीर सिंहको मुख्य भूमिका रहेको छ । यति मात्र होइन दिल्ली सरकारले केही दिनपछि सम्पूर्ण सिनेमा हल बन्द गर्न आदेश दिइसकेको छ । मार्च ३१ तारिखसम्म सम्पूर्ण हल बन्द गर्ने निर्णय गरेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यो घोषणा गरिसकेका छन् । जसबाट हलमा फ्रेस रिलिज भएका चलचित्र मारमा पर्ने देखिन्छ । अघिल्लो हप्ता टाइगर श्रफको 'बागी ३' रिलिज भएको थियो भने आजबाट इरफान खानको ‘अङ्ग्रेजी मिडियम’ प्रदर्शनमा आएको छ ।