बहु प्रतीक्षित बलिउड चलचित्र ‘केजिएफ २’को प्रदर्शन मिति सार्वजनिक भएको छ । सफल चलचित्र ‘केजिएफ’को सिक्वेल यस चलचित्र आगामी अक्टोबर २३ अर्थात २०७७ कार्तिक ७ मा प्रदर्शनमा आउने भएको हो । निर्माण पक्षले यो मिति फाइनल भएको आधिकारिक जानकारी दिएको छ । चलचित्रले दसैँको मिति लक गरेसँगै फिल्म इन्डस्ट्रीमा एक किसिमको तरङ्ग फैलने सम्भावना निकै रहेको छ । बलिउड चलचित्रको ठुलो बजार नेपाल भएका कारण पनि नेपाली बक्स अफिसमा धेरै तल माथि हुने देखिन्छ । दसैँमा नेपाली फिल्म मेकर्सको लागी आफ्नो चलचित्र प्रदर्शनमा ल्याउन हान थाप हुने गर्छ । वर्षको प्रतीक्षित चलचित्रले दशैलाई नै रिलिज मिति तोक्ने गर्छन् ।
नेपाली चलचित्रको बजार बलिउडका प्रतीक्षित चलचित्रले खाइदिने हुनाले ठुला ब्यानरका बलिउड चलचित्र प्रदर्शनमा आउँदा प्रदर्शन मिति नै सार्ने गरेको यथार्थ हामी माझ छ । आगामी दसैँमा पनि केही प्रतीक्षित चलचित्रले प्रदर्शनको लागी मिति रोजिसकेका छन् । यसै बिच बलिउडको प्रतीक्षित चलचित्र ‘केजिएफ २’को प्रदर्शन मिति दसैँमा नै लक भए पछि नेपाली फिल्म मेकर्सको टाउको दुख्ने भएको छ । यसै मितिमा सफल चलचित्र छक्का पन्जाको चौथो सिरिज प्रदर्शनमा आउने भनिएको छ भने 'ए मेरो हजुर ४' लगायत अन्य केही चलचित्रले दशैलाई नै टार्गेट गरेका छन् । अब भने दशैलाई आफ्नो हातमा पार्न चाहने मेकर्स पछाडि हट्छन् कि बलिउडको प्रतीक्षित चलचित्रसँग मैदानमा उत्रन्छन् हेर्न बाँकी छ ।