बलिउड अभिनेता अक्षय कुमारले कोरोना भाइरसको क्षति न्यूनीकरण गर्न भारत सरकारलाई आर्थिक सहयोग गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत आफूले सरकारलाई २५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । भारतीय मिडियाका अनुसार अभिनेता अक्षयले एक स्टाटस लेखी आफूले भारत सरकारले सञ्चालन गरेको कोरोना कोषमा २५ करोड रुपैयाँ जम्मा गर्ने जानकारी दिएका छन् । कोरोना कोषमा बलिउडका कलाकारलगायत विभिन्न व्यक्तिले सहयोग गरिरहेका छन् । कोरोनासँग लड्न सरकारले चालेको कदमलाई समर्थन गर्दै अक्षय सहित साउथ फिल्मका चर्चित अभिनेता महेश बाबुले पनि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । उनले कोषलाई १ करोड दिने घोषणा गरेका हुन् । त्यस्तै साउथका अर्का अभिनेता पवन कल्याणले १ करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् ।