विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । हालसम्म भारतमा कोरोनाबाट सङ्क्रमित सङ्ख्या ३ हजार नाघेको छ । यसैबिच बलिउड गायिका कनिका कपुरलाई पनि कोरोना सङ्क्रमण भएको थियो । दुई सातादेखि लखनउको सञ्जय गान्धी पिजिआई अस्पतालमा उपचाररत कनिकाको स्वास्थ्यमा सुधार आएको छ । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ । आफ्नो परीक्षण रिपोर्टमा गल्ती भएको बताउँदै आएकी उनले ५ पटक सम्म टेस्ट गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको छ । अब भने उनको शरीरमा कोरोना सङ्क्रमण नदेखिएको कनिकाको परिवारले बताएका छन् । चिकित्सकहरू पनि अब कनिकाको अवस्था सामान्य भइसकेको बताउँछन् । कनिका र उनको परिवार छैटौँ रिपोर्टको पर्खाइमा छन् । यदि छैटौँ रिपोर्टमा कोरोना सङ्क्रमण नदेखिए कनिका आफ्नो घर फर्कन सक्नेछिन् ।