बलिउड अभिनेता सलमान खानले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक भिडियो पोस्ट गरेका छन् । भिडियोमा सलमान आफ्नो भतिज (सोहेल खानको छोरा) निर्वानसँग देखिएका छन् । उनले  निर्वानले गएको तीन हप्तादेखि आफ्नो पितासँग नभेटेको र निकै डराएको बताएका छन् । एक दिनका लागी आएका निर्वानले आफ्ना पिता समेत भेट्न पाएका छैनन् । किनकि उसै दिन देखी भारतमा लक डाउनको घोषणा भयो । भारतमा कोरोनाभाइरसको जोखिम बढेपछि सरकारले तीन हप्ता लामो लक डाउन जारी गरेको छ । जसका कारण सामान्य जनता देखी सेलिब्रेटी समेत प्रभावित भएका छन् । उनीहरूले आफ्नो स्वास्थ्यको लागी यसरी घरमा बस्नु सुरक्षित भएको र सबैले यस कुरालाई पालना गर्न आग्रह गरिरहेका छन् ।

सलमानले सार्वजनिक गरेको भिडियोमा भनेका छन्, 'एउटा फिल्मी डाइलग छ- जो डराउँछ सम्झ ऊ मर्‍यो । तर, यो डाइलग यहाँ लागू हुँदैन । हामी डराएका छौँ र निकै बहादुरीपूर्वक भन्छौँ कि हामी डरायौँ । तपाईँहरू धेरै बहादुर नबन्नुस् । जो डराउँछ सम्झ ऊ बाँच्छ र उसले धेरैलाई बचाउँछ पनि ।' उनको यो भनाइको आशय हो कोरोनासँग डराउनु कायरता नभै समझदारी हो । आफ्नो स्वास्थ्यको जिम्मा हाम्रै हातमा भएको र यसले आफूलाई मात्र होइन अरूलाई पनि बचाउँछ ।