सन् २०१९ की मिस इंल्यान्ड भाषा मुखर्जी ताज बिसाएकी छिन् । पेसाले चिकित्सक रहेकी उनी आफ्नो ताज बिसाएर कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि खटिने भएकी हुन् । यसैका लागि उनी विदेशका विभिन्न च्यारिटी काम छाडेर बेलायत पुगेकी छिन् । भाषाले गत डिसेम्बर महिनामा भएको विश्व सुन्दरी प्रतियोगितामा इंल्यान्डको प्रतिनिधित्व गरेपछि उनको चिकित्सकको करियर रोकिएको थियो । सौन्दर्य प्रतियोगिताहरूको नियम अनुसार नयाँ विजेता घोषित नभएसम्मका लागि आयोजकले निर्धारित कार्यक्रमहरूमा सक्रिय रहनुपर्छ । उनलाई विश्वका विभिन्न देशमा रहेका च्यारिटी संस्थाले दूत बनाउन अनुरोध गरेका छन् । तर उनले भने यही अगस्ट महिनासम्म यी सबै काम थाती राखेर मानवताको काममा जुट्ने निर्णय गरेकी छिन् । कोरोनाले स्थिति जटिल बन्दै गएपछि उनी आफ्नो घर बेलायत फर्किइन् ।
उनले पहिले काम गर्ने गरेको पूर्वी इंल्यान्डको बोस्टनस्थित अस्पताल पिलग्रिममा काम गरिरहेका आफ्ना साथीबाट परिस्थिति निकै जटिल भएको थाहा पाइन् । त्यसपछि अस्पताल प्रशासनसँग कुरा गरेर आफू पुरानै काममा फर्कन चाहेको बताएकी थिइन् । भारतबाट फर्केपछि उनी १४ दिन सेल्फ क्वारेन्टाइनमा बिताएपछि उनी पुनः पहिले कार्यरत बस्टनस्थित पिल्ग्रिम अस्पतालमा काम थाल्ने छिन् । उनी स्वास प्रस्वास सम्बन्धी चिकित्सक हुन् । उनले इङ्ल्यान्डका लागि काम गर्ने यो जस्तो सुन्दर अवसर अरू हुन नसक्ने बताएकी छिन् । जुन मिस इङ्ल्यान्डको ताज पहिरिएर सम्भव थिएन ।