कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर नै रिलिजका लागी तयार चलचित्रले रिलिज डेट सार्नु परेको थियो । लामो समयसम्म फिल्म सम्बन्धी हरेक कार्यहरू बन्द भएपछि चलचित्र निर्माता डिज्नी कम्पनीले प्रदर्शनका लागि रोकिएका चलचित्रको नयाँ रिलिज मिति तोकेको छ । डिज्नीका अनुसार अब स्कारलेट जोनसन स्टारर चलचित्र 'ब्ल्याक विडो' अब नोभेम्बर ६ मा प्रदर्शनमा आउने छ । चलचित्र 'द इटर्नल्स' १२ फेब्रुअरी २०२१ मा रिलिज हुने भएको छ भने सुपर हिरो चलचित्र 'ब्ल्याक प्यान्थर २'ले ६ मे २०२२ लाई रिलिज मिति पाएको छ ।

ड्वेन जोनसन र एमिली ब्लन्ट स्टारर 'जङ्गल क्रुज' अब २० जुलाई २०२१ मा रिलिज हुनेछ भने ह्यारिसन फोर्डको 'इन्डियाना जोन्स ५'ले अब २९ जुलाई २०२२ सम्म कुर्नुपर्ने भएको छ । साथमा एसियन सुपर हिरो चलचित्र 'सांग ची एन्ड द लिजेन्ड अफ द टेन रिंग्स' ७ मे २०२१ मा, 'डाक्टर स्ट्रेन्ज २' ६ नोभेम्बर २०२१ मा, 'थारः लभ एन्ड थन्डर' १८ फेब्रुअरी २०२२मा, 'क्याप्टेन मार्बल २' फिल्म ८ जुलाई २०२२ मा र वर्षको अति चर्चित फिल्म 'मुलान' को रिलिज डेट आगामी २४ जुलाई लाई तय भएको छ ।

जेम्स बन्ड सिरिजको २५औँ फिल्म 'नो टाइम टु डाई' को रिलिज सात महिना पछाडि धकेलिएको छ । लन्डनमा यो फिल्म ८ अप्रिलमा रिलिज हुने तय गरिएकोमा अब त्यहाँ १२ नोभेम्बरका लागि नयाँ डेट तय गरिएको छ । समय अनुकूल भएमा 'नो टाइम टु डाई' अमेरिकामा भने २५ नोभेम्बरमा रिलिज हुनेछ ।