विश्वभर फैलिएको कोरोना भाइरसबाट जोगिन सक्दो प्रयास गरिएको छ । यसको जोखिम कम गर्न र सङ्क्रमण फैलिन नदिन अनेक उपाय लगाइएको छ जसमा सबैभन्दा बढी महत्त्व दिइएको छ लकडाउनलाई । भारतमा कोरोनाको जोखिम कम गर्न लकडाउन जारी गरिएको छ । यद्यपि कोरोना सङ्क्रमित बढी नै रहेका छन् । यो जोखिमको अवस्थामा समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्न बलिउड कलाकारहरू अगाडी आइरहेका छन् । यसैबिच बलिउड चर्चित अभिनेता अक्षय कुमारले सहयोग गरेका छन् । केही दिन अघि  प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गरेका अक्षयले फेरी बीएमसीलाई तीन करोड रुपैयाँ सहयोग गरेका छन् । कोरोना भाइरससँग बच्न प्रयोग हुने पीपीइ, मास्क र रेपिड टेस्टिङ किट बनाउनका लागि उनले सहयोग गरेका हुन् । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले सोसल मिडियामा यसबारे आधिकारिक जानकारी दिएका हुन् । योसँगै उनले सामाजिक सञ्जालको माध्यमबाट कोरोना भाइरसप्रति जागरूकता जगाइरहेका छन् ।