कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि भारतमा गरिएको लकडाउन थप गरिएसँगै जनजीवन कष्टकर बन्दै गएको छ । लकडाउनका कारण सम्पूर्ण बलिउड कर्मी यति बेला घरमै छन् । हरेक कलाकार विभिन्न तरिकाले दर्शक सामु प्रस्तुत भइरहेका छन् । यसै बिच बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षितले लकडाउनको समयमा अनलाइनमार्फत निःशुल्क डान्स सिकाउन थालेकी छिन् । नृत्य सिक्न चाहने र लकडाउनका बेलाको समय सदुपयोग गर्न सहज हुने गरी डान्स कक्षा दिएकी हुन् । उनको यस कार्यलाई सबैले प्रशंसा गरेका छन् । यसै बिच अभिनेत्री आलिया भट्टले माधुरीको मनै देखी तारिफ गरेकी छिन् । उनले सामाजिक सञ्जाल ट्विटरमा एक स्टाटस लेखेकी छिन्, डान्स विथ माधुरी एउटा राम्रो पहल हो, घरभित्रै रहँदाको यस समयमा तपाईँले नृत्यमा पारखी व्यक्तिबाट नृत्य सिक्ने यो राम्रो अवसर पाउनुभएको छ । 'माधुरीले अप्रिल १ देखि ३० सम्म हुने उक्त कक्षामा निःशुल्क डान्स सिकाउने छिन्' । उनले 'डान्स विथ माधुरी' अभियानमार्फत सातामा दुई पटक भर्चुअल नृत्य प्रशिक्षण कक्षा सञ्चालन गरेकी छिन् ।