सबै चलचित्र पारखीका एक न एक मन पर्ने कलाकार हुन्छन् । आफूलाई मन पर्ने कलाकारको प्रशंसा गर्नु र सबै कुरामा अगाडी भएको हरेक फ्यानको चाहाना हुन्छ । यसै कारण कहिले काहीँ कुनै दुई कलाकारका फ्यानका बिच मनमुटाब मात्र हुँदैन अप्रिय घटना नै हुन्छन् । यस्तो घटनाका बारेमा दक्षिण भारतीय सुपरस्टारका जब्बर फ्यानका अनेक किस्साहरू आइरहन्छन् । हालै तामिल फिल्म उद्योगका दुई ठुला स्टार रजनीकान्त र विजयका फ्यानसँग जोडिएको नराम्रो खबर भारतीय मिडियामा आएको छ । दुईबिच विवाद हुँदा रजनीकान्तका फ्यानले विजयको फ्यानलाई हत्या गरेको बताइएको छ । विवाद कोभिड–१९ को राहत कोषमा कसले कति रकम दियो भन्ने विषयमा भएको थियो । तामिलनाडू राज्यको भिल्लिपुरम जिल्लामा गत बिहीबार (अप्रिल २३) विजयका फ्यान युवराज र रजनीकान्तका फ्यान दिनेश बाबुबिच कसले धेरै रकम दान दियो भनेर झगडा परेको थियो ।

झगडा चर्कँदै गएपछि दिनेश बाबुले युवराजलाई हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक युवराज २२ वर्षका थिए भने दुवैले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । हत्यापछि दिनेश पक्राउ परेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको छ । घटनाका विषयमा अहिलेसम्म दुवै सुपरस्टारले कुनै प्रतिक्रिया दिएका छैनन् । विजयले प्रधानमन्त्री राहत कोष र मुख्यमन्त्री राहत कोषमा १ करोड ३० लाख र रजनीकान्तले ५० लाख सहयोग गरेका थिए ।