बलिउड फिल्म निर्माण कम्पनी यशराज फिल्म्सले गौरवमय ५०औँ वर्ष पुरा गरेको छ । बलिउडमा फिल्म निर्माताको रूपमा एउटा छुट्टै स्थान बनाएको यस कम्पनीले आफ्नो ५०औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो । तर कोरोना कहर र जारी लकडाउनका कारण वार्षिक उत्सव समारोह नहुने भएको छ । बलिउड मिडियाले जनाए अनुसार कार्यक्रममा नयाँ फिल्महरू समेत घोषणा गर्ने तयारी भएको थियो । कार्यक्रमकै लागि स्टुडियोमा चर्चित कलाकारहरूले सन्देश रेकर्ड गराउँदै थिए । यसै गरी हालसम्म यशराज फिल्म्स ब्यानरबाट बनेका स्टार कलाकार अभिनीत फिल्महरू एउटै 'स्लाइड'मा देखाउने बताइएको थियो । शाहरुख खान, सलमान खान, रणवीर सिंह, दीपिका पाडुकोण, कट्रिना कैफ, ऋतिक रोशन लगायतको ५० फरक फिल्महरू एकै साथ फिचर हुँदै थियो जसको नाम  'प्रोजेक्ट ५०' राखिएको थियो ।

कार्यक्रम २०२० जुन वा जुलाईमा आयोजना गर्ने तयारी गरिए पनि कोरोनाको बढ्दो जोखिम र सङ्क्रमणले गर्दा कार्यक्रम यो समयमा पनि हुने नहुने यकिन छैन ।