कोरोना भाइरसको सङ्क्रमणले गर्दा नेपाल भारत लगायत विश्वमा नै जनजीवन निकै कष्टकर भइरहेको छ । जसको कारण अस्पतालमा काम गर्ने कर्मचारी तथा चिकित्सक निकै महत्त्वपूर्ण भूमिका निभाइरहेका छन् । फ्रन्टलाईनमा बसेर काम गर्ने र यस लडाइँलाई जित्न सहयोग गर्ने चिकित्सक तथा नर्सका लागी आवश्यक सुरक्षित सामाग्री पिपिइ हो जसले उनीहरूलाई सङ्क्रमणबाट जोगाउँछ । यसै बिच फ्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्य सेवामा लागेका लागी सहयोग गर्ने क्रम विश्व भर नै जारी छ । यसै बिच बलिउड अभिनेता शाहरुख खानले आफ्नो संस्था मीर फाउन्डेसनको माध्यमबाट सहयोग गर्ने भएका छन् । उनले सामाजिक सञ्जालमा आधिकारिक सूचना सार्वजनिक गर्दै लेखेका छन्, 'आउनुहोस् कोरोना भाइरससँगको लडाइँमा नेतृत्व गरिरहेका बहादुर स्वास्थ्य अधिकारी र चिकित्सकहरूको लागि पिपिइ सहयोग गरेर समर्थन गर्न सक्छौँ,' उनले लेखेका छन्, 'थोरै मद्दतले धेरै काम हुन सक्छ ।'

उनले मीर फाउन्डेसनले यसबारे उल्लेख गरेको लिङ्क पनि शेयर गरेका छन् जसमा पिपिइ किट उपलब्ध गराउनका लागि सहकार्य गर्ने उल्लेख छ । शाहरुखले यसअघि पनि पिएम केयर फन्ड र महाराष्ट्र मुख्यमन्त्री फन्डमा पनि सहयोग गरेका थिए । यसबाहेक उनले २५ हजार पिपिइ किट्स पनि सहयोग गरेका गरिसकेका छन् । उनको यस कार्यलाई डब्लुएचओको महानिर्देशक टेड्रोसले पनि प्रशंसा गरेका छन् ।