गायक दिवेश पोख्रेल 'अमेरिकन आइडल २०२०'को फस्ट रनर अप भएका छन् । आइतबार यस गायन रियालिटी शोको डिजिटल फिनाले गरिएको थियो । यस वर्षको अमेरिकन आइडलको उपाधि २० वर्षीय सामन्था डियाज 'जस्ट साम'ले जितेकी छिन् । अमेरिकाको कन्सास राज्यको विचिटा सहरमा बस्दै आएका २२ वर्षीय पोखरेल छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र परेका थिए । दिवेशले अमेरिकन रक ब्यान्ड क्रिडेन्स क्लियर वाटर रिभाइभलको 'ह्याब यु एभर सिन द रेन' गाएका थिए।

प्रस्तुति पछि निर्णायक रहेका लियोनेल रिचीले दिवेश यिनै प्रस्तुतिहरूका कारण 'स्टार' भइसकेको प्रतिक्रिया दिएका थिए । उनले अगाडि नतिजा जस्तै आए पनि तिमी एक स्टार भइसकेको समेत बताएका थिए । दिवेशको प्रस्तुति अघि बौद्ध लगायत नेपालको परिवेश झल्कने दृश्य देखाइएको थियो। त्यस्तै निर्णायक लुक ब्रायनले नेपाली दर्शक, श्रोतालाई सम्बोधन गर्दै काठमाडौँमा दिवेशजस्तै अरू पनि गायकहरू भए कृपया अर्को वर्ष अमेरिकन आइडलमा सहभागिता जनाउन आग्रह समेत गरेका छन् । काठमाडौँमा जन्मिएका दिवेशले अमेरिका जानु अघि नेपाली साङ्गीतिक कोसेली एल्बम ‘ग्रहण’ सार्वजनिक गरिसकेका छन् । उनी विगत वर्षा यता अमेरिकामा बस्दै आएका छन् ।