भारतीय टेली सिरियल ‘क्राइम पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ लगायतमा गरिसकेकी अभिनेत्री प्रेक्षा मेहताको मृत्यु भएको छ । अभिनेत्री मेहताले आत्महत्या गरेकी हुन् । २५ वर्षको उमेरमा आत्महत्या गरेकी उनले मृत्यु अगाडी सुसाइड नोट पनि लेखेकी थिइन् । जसमा उनले आफ्ना सपनाहरू टुटेपछि आत्मविश्वास पनि हराएको लेखेकी छिन् । उनले लेखेकी छिन्, 'म मेरो मरिसकेका सपनाको साथमा बाँच्न सक्दिनँ । यस्तो नकारात्मक कुरालाई लिएर बाँच्न मुस्किल छ ।' आत्महत्या गर्नु अघिल्लो रात उनले बेलुकी १० बजे सामाजिक सञ्जाल इन्स्टाग्राममा मानिसको सपना मर्न थाल्नु नै सबै भन्दा खराब समय हो भनेर लेखेकी थिइन् । बिहान पङ्खामा झुन्डिएको अवस्थामा उनको लास परिवारका सदस्यले भेटेका थिए । पछिल्लो एक वर्षदेखि काम नपाएका कारण प्रेक्षा डिप्रेसनमा गएको बताइएको छ ।