बलिउड अभिनेता अक्षय कुमारले कोरोना कहरमा आवश्यक परेकालाई विभिन्न प्रकारका सहयोग गरिरहेका छन् । उनी लकडाउन अवधिभर सामाजिक सेवा एवं सावधानी सन्देश प्रवाहमा व्यस्त छन् । दैनिक उपभोग्य वस्तुको अभावमा रहेका वर्ग लगायत अत्यावश्यक सामाग्रीको वितरणमा उनी व्यस्त छन् । अक्षयले लकडाउन घोषणासँगै प्रधानमन्त्री राहत कोषमा २५ करोड रुपैयाँ सहयोग गरेका थिए । त्यसपछि उनले मुख्य मन्त्री राहत कोषमा नगद सहयोग गर्नुका साथै मुम्बई प्रहरीलाई २ करोड, ब्रिहान मुम्बई सामुदायिक सङ्गठनलाई ३ करोड बराबरको पीपीई सेट एवं अन्य सुरक्षा उपकरण उपलब्ध गराएका थिए। साथै मुम्बई प्रहरीलाई हजार थान स्मार्ट घडी समेत दिएका थिए । यसै बिच अक्षयले फेरी ४५ लाख सहयोग गरेका छन् । बलिउड मिडियाका अनुसार उनले टिभी कलाकारहरूको सिने एण्ड टिभी आर्टिस सङ्घ (सिन्टा)लाई उक्त रकम हस्तान्तरण गरेका हुन् । मार्चदेखि प्रभावित छायाङ्कन एवं अन्य कामका कारण ती कलाकार, प्राविधिक एवं अन्य टिभी मजदुरहरूको दैनिकीमा समेत असर देखिएपछि उनले यो सहयोग गरेका हुन् । उनले प्रभावित १,५०० कलाकार र प्राविधिकको अकाउन्टमा ३००० रुपैयाँ ट्रान्स्फर गरिदिएको सिन्टाका प्रतिनिधि अमित भेलले बताएका छन् ।