बलिउडका लोकप्रिय सङ्गीतकार वाजिद खानको गए राति निधन भएको छ । गायक सोनु निगमले गए राति वाजिदको मृत्यु भएको पुष्टि गर्दै आफ्नो फेसबुकमा लेखेका छन् । वाजिद खानका परिवारले पनि बिबिसीसँग उनको निधनको पुष्टि गर्दै भनेका छन्, 'उनको आत्माका लागि प्रार्थना गर्नु होला ।' ४२ वर्षका उनलाई कोरोना भाइरस सङ्क्रमण भएको बताइएको छ । उनी किड्नीका बिरामी थिए । र उनको दुई वर्ष पहिला किड्नीको प्रत्यारोपण गरिएको थियो । घाँटीमा सङ्क्रमण भएपछि उनलाई चेम्बुरको सुराणा अस्पतालमा भर्ना गरिएको थियो । वाजिद खानको सबैभन्दा ताजा गीत ‘भाइ–भाइ’ एक साताअघि मात्र सार्वजनिक भएको थियो । उक्त गीत अभिनेता सलमान खानसँग बनाइएको थियो । लोकप्रिय सङ्गीतकार वाजिदको मृत्युले सम्पूर्ण बलिउड शोकमा डुबेको छ । उनलाई सम्झिँदै श्रद्धाञ्जली दिनेको ओइरो नै लागेको छ ।
उनलाई सम्झिँदै अभिनेत्री प्रियंका चोपडाले लेखेकी छिन्, ‘निकै भयानक समाचार । म सधैँ साजिद भाइको एउटा कुरा याद गरिरहनेछु, उनको हाँसो । सधैँ हाँसिरहने । निकै छिट्टै बिदा भए । उनको परिवार र शोकमा भएका सबैप्रति मेरो समवेदना ।’ यस्तै वाजिदका नजिकका साथी गायक सलिम मर्चेन्टले उनलाई याद गर्दै श्रद्धाञ्जली दिएका छन् । उनले ट्विटरमा लेखे, ‘साजिद वाजिदमार्फत् चर्चित वाजिद खानको निधनको खबर सुनेर म उजाडिएको महसुस गरिरहेको छु । अल्लाहले उनको परिवारलाई शक्ति दिउन् । सेफ ट्राभल वाजिद खान । तिमी निकै छिट्टै गयौ । म शोकमा छु र टुटेको छु । ’ वाजिदका बाल्यकालका साथी रणवीर शौरीले लेखेका छन्, ‘मेरो बाल्यकालका साथीको यस्तो खबर सुनेर दुःखी छु । वाजिदले कोभिड–१९ सामु घुँडा टेको । म शोकमा छु । वाजिद, मेरो भाइ तिमी र तिम्रा परिवारका लागि अङ्गालोभरिको माया पठाइरहेको छु । यो अत्यधिक दुःखद हो ।’